काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले ५ चैतभित्र ९ कक्षासम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा ५ चैतभित्र गरिसक्न निर्देशन दिएको हो ।
मन्त्रालयको विज्ञप्तिमा कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन आग्रह गरेको छ । साथै विद्यालयमा कुनैपनि सभा र कार्यक्रम आयोजना नगर्न आह्वान गरिएको छ ।
‘विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रूपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी ५ चैतभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) ६ चैतदेखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
यसैबीच कोरोना (कोभिड(१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका पाँच बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
परीक्षणका क्रममा उनीहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार उनीहरूको शरीरको तापका आधारमा केही दिन ‘आइसोलेसन’मा राख्ने निर्णय भएको छ । चीनबाट एक र कोरियाबाट आएका तीनसहित पाँच जनालाई केही दिन अस्पतालमै राखेर परीक्षण गर्न लागिएको हो । देवकोटाका अनुसार कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना भएकामध्ये २३ जना घर फर्किसकेका छन् ।