काठमाडौं– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज उनको स्वास्थ्य अवस्था सुध्रिँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । अस्पताल स्रोतका अनुसार उनको पछिल्लो स्वास्थ्यस्थतिबारे दिनहुँ ४ बजे औपचारिक जानकारी दिइनेछ । अहिले उनको दुखाइ कम गर्न उनलाई औषधि दिइएको छ र आराम गराइएको छ । उनलाई बोल्न वा कसैसँग भेट्न भने दिइएको छैन ।
आज बिहान उनले कालो चिया पिएको अस्पतालले जनाएको छ । बिहीबार बिहान प्रधानमन्त्री ओलीले कालो चिया पिएको अस्पतालका चिकित्सकहरुलाई उद्धृत गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।