काठमाडौं– हल्ला चल्यो कि फाइदा लियो । नेपाली व्यापारीमा यो संस्कार भारतले नाकाबन्दी गर्नुअघिबाटै थियो । तर, यसरी व्यापारीले आफ्नो फाइदाका लागि कालोबजारी गर्दा जनता भने मारमा पर्ने गरिएको छ ।
अहिले बजारमा ग्यास, नुन, चिनी, माक्स, औषधीलगायतका सामग्रीको कृतिम अभाव सिर्जना गरिएको छ । तर, कृतिम सिर्जना गरेर कालोबजारी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्न सकेको छ्रैन ।
मेडिकल तथा औषधी पसलहरू त ‘यहाँ माक्स छैन’ भनेर सुचना नै टाँसिएको देख्न सकिन्छ । त्यस्तै, बजार अहिले नुनको समेत कृतिम अभाव सिर्जना गरिएको छ ।
सरकारले कालोबजारी गर्ने कारबाही र जरिबाना गर्ने बताएपनि उपभोक्ताले नुन पाएका छैनन् । खाद्य पसलहरूमा सोध्यो भने, ‘नुन छैन’ भन्ने जवाफ दिन्छन् । यहाँ व्यापारीमात्र नभएर हामी जनता समेत हल्लाको पछि दौडिएर कृतिम अभाव सिर्जनामा हँसे गरिरहेको छौँ । जयबागेश्वरीस्थित एक पसलले भने, ‘यहाँ एकैजनाले २० प्याकेटसम्म नुन किनेर लगे । म नै छक्क भएँ ।’ उनले एकैजनाले १० देखि २० प्याकेटसम्म नुन किनेको सुनाए । आखिर २० प्याकेट नुन केका लागि त ? उनले भने, ‘कोरोना भाइरसको त्राससँगै बजार यहाँ हरेक वस्तु आवश्यक भन्दा धेरै किन्न थालेका छन् । त्यस्तै नुन पनि एकैजनाले धेरै किन्दा अभाव भएको हो ।’ वास्तवमा यहाँ कुनै पनि वस्तुको अहिले अभाव भएको नभएको सरकारले जनाएको छ । अहिले बजारमा देखिएको अभाव व्यापारीले गरेको कृतिम अभाव हो ।
यस्तै, नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको छ ।
उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिए ।
कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात छ । ‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात रहेको छ । नुनको कुनै अभाव छैन ।’ अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि कर्पोरेशनले जनाएको छ ।
यस्तै कर्पोरेशनले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कर्पोरेशनसँग करिब पाँच महिनालाई पुग्ने १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको विभागीय प्रमुख झाले बताए । हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा रहेको छ भने सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको छ ।
नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको छ । कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५२२ मेट्रिक टन धान खरिद गरेको छ ।
सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ । उपभोग्य वस्तुको अनावश्यक भण्डारण गर्ने प्रवृत्ति मौलाएको भन्दै मन्त्रालयले शुक्रबार त्यस्ता वस्तुको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्थामा कुनै व्यवधान नरहेको स्पष्ट पारेको थियो ।
अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको मन्त्रालयको भनाइ छ । कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढंगले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले कठोररूपमा प्रस्तुत हुने जनाएको छ । दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले त्यस्ता वस्तुको कारोबार गर्ने व्यवसायीसँग दैनिक छलफल गर्दै आइरहेको जनाएको छ ।