काठमाडौं– सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउने विषय संयुक्त राष्ट्रसंघसमक्ष पेश गर्दैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सो दिवसलाई विश्वव्यापी रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लैजाने तयारी भइरहेको जानकारी दिए ।
मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ कार्यक्रममा उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा गर्ने बताए । त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सरकारले छाउगोठजस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ ।
मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको समेत बताए । उनले भने, ‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन सरकार लागि परेको छ ।’
सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थालाई आह्वान गरिएको छ ।
मन्त्री गुरुङले समाजमा विद्यमान लैंगिकविभेद अन्त्यका लागि ‘लैंगिक मैत्रीनीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको जानकारी दिए ।
सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउगोठजस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुुरु भएको भन्दै खुशी व्यक्त गरे ।