बागलुङ– स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तिजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरू दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।
गाउँसहरमा तिज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तिज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तिज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तिजको रमझम छैन ।
महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् ।
तिजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ ।
गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा आयोजना हुने ऐतिहासिक तिज मेला यसपालि नहुने आयोजकले जनाएको छ । ‘तिज गीत प्रतियोगितालगायत कुनैपनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय ग¥र्यौँ,’ नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले भनिन्, ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरू भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुन सक्छ ।’
सोही ठाउँमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । विगतको सशस्त्र द्वन्द्वका बेला केही वर्ष रोकिएको नाच्ने डाँडाको तिज मेला अहिले भने कोरोनाको मारमा प¥यो ।
बरेङ गाउँपालिकामा लाग्दै आएको जिल्लाको दक्षिण भेगकै ठूलो तिज मेला पनि यो वर्ष स्थगन भयो । सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तिज मेला गर्न नसकिएको आयोजक ग्रामीण जनसहभागिता विकास केन्द्रले जनाएको छ ।
केन्द्रले तिज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गथ्र्यो । बागलुङ नगरपालिकाको रुद्रेपिपल, मालिका काठेखोला गाउँपालिकाको रेशलगायतका ठाउँमा आयोजना गरिने तिज मेला पनि यो वर्ष भएनन् ।
गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो । तिजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तिजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन ।
तिजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् । बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ ।
सौन्दर्य व्यवसायी सावित्री पुनले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिकी छन् ।
‘गए पनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन,’ उनले भनिन्, ‘यो वर्ष कोठामै बसेर तिज जाने भयो ।’
कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबारदेखि एक सातासम्मलाई बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँड्डुल गर्नसमेत रोक लगाइएको छ ।
चाडबाडमा हुने भीडभाड र आवात्जावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ ।
निषेधाज्ञा जारी गर्ने बागलुङ नगरपालिकाको सिफारिसलाई जिल्ला कमानड पोस्टले सहमति दिएको हो ।
यसअघि वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि ७ गतेसम्मलाई ‘सिल’ गरिएको छ ।
यो वर्षको हरितालिका तिज बुधबार छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तिजमा व्रत बस्छन् । भगवान् शिवको आरधाना गर्छन् ।
रासस