
दोहा– कुवेतमा अलपत्र ३३ नेपालीलाई नेपाली दूताबाले बेवास्ता गरेको देखिएको छ ।
१८ महिनाअघि कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई दूताबासले राहत दिन इन्कार गर्दै आएको छ भने पीडितलाई दूताबासभित्र पस्न पनि निषेध गरेपछि उनीहरू झन् बिचल्ली भएका हुन् ।
उनीलाई एनआरएन कुवेतले खाद्यान्न सहयोग गरेको छ ।
प्रतिब्यक्ती २० दिन पुग्ने गरी ३३ जनालाई चामल, दाल, तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको गैरआवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले जानकारी दिएका छन् ।
लामो समयदेखि विभिन्न संस्थाहरूको सहारामा बाँचिरहेको बताउँदै पीडित नेपाली श्रमिकले एनआरएनको टोली समक्ष आफूहरूलाई चाँडोभन्दा चाँडो उद्धार गरी स्वदेश पठाइदिन आग्रह गरेका छन् ।
गैरआवसीय नेपाली संघसँग राहतका लागि सम्पर्क गरेपछि एनआरएन कुवेतका अध्यक्षसहितको टोली राहत सामग्री लिएर पीडितहरू कहाँ पुगेका थिए ।
पीडितहरूको गुनासो सुनेपछि एनआरएन कुवेतका अध्यक्ष सुजन केसीले यो समस्यालाई लिएर कुवेतस्थित नेपाली दूताबासमा गम्भीरतापूर्वक समस्याको समाधान खोज्नका लागि उनीहरूलाई ल्याउने कुवेतका एजेन्ट गौतम आमगाई, पीडित श्रमिकहरू तथा दूताबासलाई भेट गराई छलफल गराउने बताएका छन् ।
पटक–पटक दूताबास पुग्दा पनि आफूहरूलाई भित्र पस्नै नदिने गरेको र आङ्खनो कुरासमेत राख्न नदिएर दूताबासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरूले बताएका छन् ।
उनीहरूका अनुसार दूताबासका केही कर्मचारीहरू कोठामै आएर आफूहरूको समस्या देखेर पनि नदेखेझैँ गरेर दूताबास रमिते मात्र बनेको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार १ लाख ५० हजारभन्दा बढी तिरेर कुवेत पुगेका उनीहरू कम्पनीले सम्झौतामा भए जति तलब कहिल्यै नदिएको र झन् पछिल्लो समयमा फेब्रुअरीदेखि कम्पनी तलब नै नदिए पछि उनीहरू अलपत्र पारका हुन् ।
उनीहरूले आफूले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाई दिन दूताबासलाई धेरैपटक गुहारेको तर दूताबासले उनीहरूको कुरा नसुनी उल्टै कामदारलाई दोष लगाउँदै झपारेको पीडितहरूले बताएका छन् ।
यता, कुवेतमा रहेको नेपाली दूताबासमा यसबारे पटक–पटक बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।