काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद सभाधान नजिक छ । विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बुझेसँगै यस्तो आँकलन गरिएको हो । प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिइएको छ ।
अध्यक्षद्वयलाई बुझाइएको प्रतिवेदन सर्वसम्मतः तयार पारिएको कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए । उनका अनुसार पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउन र पार्टी एकता बलियो बनाउने गरी प्रतिवेदन बनाइएको छ ।
प्रतिवेदनमा पार्टी एकतालाई आत्मसाथ गर्दै अघि बढ्ने, पद्धति र पार्टी एकताको महत्वलाई आत्मसात गर्ने तथा पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषय उल्लेख रहेको स्रोतको भनाइ छ ।
कार्यदलका अर्को सदस्य भीम रावलका अनुसार राजनीतिक तथा संगठनात्मकरूपमा गर्नुपर्ने काम गर्दै एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने सुझाव दिइएको छ । साथै, संसदीय दलको भूमिका प्रभावकारी बनाउने र प्रदेश र स्थानीय सरकारलाई समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान, बाढीपहिरोबाट सिर्जित समस्याको सामना, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने तथा एमसीसीबारे राष्ट्रको पक्षमा निर्णय गर्नुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ ।
कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागलाई थाँती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा ओलीले पुरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ ।
त्यसमा अध्यक्षद्वयको सल्लाहमा निर्णय गरिने उल्लेख छ । प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कार्यदलको अन्तिम बैठकले पार्टीभित्र उठेका विभिन्न विषयवस्तुलाई मसिनो गरी छलफल गर्दै अन्तिम रूप दिएको थियो ।