काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी संक्रमितको पिसीआर परीक्षण गरी सकिएको बताएका छन् । अब अरुलाई जोगाउन सचेतना आवश्यक रहेको उनले बताए । उनले कोरोनाबाट बच्न सबैमा सचेतना आवश्यक रहेको पनि बताए ।
युवा गैरसरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शनिबार भएको ‘महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा भाग लिँदै उनले राजनीतिक नेता तथा कायकर्ता, कर्मचारी जो बढी जन सम्पर्कमा रहन्छन्, उनीहरूबाट रोग फैलिने खतरा बढिरहेकाले युवालाई सुरक्षित तरिकाले समुदायमा परिचालन गरिने बताए ।
समाज रूपान्तरणका सम्बाहक युवा भएकाले प्रदेश सरकारले उनीहरूलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । मुख्यमन्त्री शाहीले विरोधी मानसिकता मात्रै बोकेको अहिलेको अधिकांश युवाको संस्कार अब अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रदेश सरकारले युवाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरे पनि खर्चिन नसकेकाले समन्वयमा काम गर्न आवश्यक रहेकाले प्रादेशिक हिसाबले गठन हुने युवा परिषद्मा स्थानीय र संघीय युवा संरचनालाई समेट्ने गरी ऐन ल्याउन माग गरे ।
यस्तै, इटहरी उपमहानरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना महामारी नियन्त्रणमा युवालाई सचेतनासम्बन्धी तालिम उपलब्ध गराएर स्वयंसेवकका रूपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गरेकी छन् ।
कोभिड–१९ महामारीको रोकथामका विषयमा युवा परिचालनका लागि सबै प्रदेशमा यस प्रकारको छलफल सञ्चालन गरिने युवा गैसस महासंघका अध्यक्ष नारायण गिरीले जानकारी दिएका थिए ।