काठमाडौं– नेपालमा कोरोना संक्रमित बढ्दोक्रममा छ । आइतबारमात्रै थप ८१८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ संक्रमित देखिएका हुन् । उनीहरूमध्ये २२० महिला र ५९८ पुरुष छन् ।
मन्त्रालयका अनुसार हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका थप १६६ कोरोना संक्रमितमध्ये काठमाडौंका १६६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् ।
यससँगै हालसम्म १८ हजार ६३१ कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्षाको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिए ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । यो मृत्युदर सून्य दशमलव ४७ प्रतिशत हो ।
यस्तै, होम आइसोलेशनमा रहेका बिरामीको संख्या ४९७ रहेको छ भने आइसोलेशनमा ८ हजार ७२४ रहेको छ ।
आइतबार देशभर सक्रिय संक्रमित संख्या १३ हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।
जिल्लागत पाँच सयभन्दा बढी कोरोनाका संक्रमित रहेका ६ जिल्लामा मोरङ, पर्षा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौं रहेका छन् । संक्रमित सून्य रहेका जिल्ला मुस्ताङ, म्याग्दी र हुम्लालगायत पाँच जिल्ला छन् ।
काठमाडौंमा संक्रमणको दर बढिरहेकोले संक्रमण समुदायमा गयो भने नियन्त्रण गर्न नसिकने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी मास्क लगाउन, साबुन पानीले हात धुन र स्यनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।