काठमाडौं– पिसीआरका परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि पनि सबैलाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएको भन्दै अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका हुन् ।
सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरूले व्यक्तिगत सुरक्षा कवच (पिपिई) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिई लिन समेत उनले अनुरोध गरेका छन् ।
यस्तै, काठमाडौंमा संक्रमणको दर बढिरहेकाले संक्रमितको नजिक आएकाहरूलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुरोध गरेका छन् ।
नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा संक्रमण, १८ हजार ३५० जनामा संक्रमण निको र १४६ जनाको संक्रमणका कारणले मृत्यु भइसकेको छ ।
‘पिसीआर पोजेटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले संक्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा पाँचदेखि सात दिनभित्रमा स्वाब दिन अनुरोध छ’ उनले भने, ‘संक्रमितसँग भेटेको तुरुन्तै पिसीआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ ।
नेगेटिभ आयो भनेर ढुक्क हुने तर संक्रमणमा हुने डर उस्तै हुन्छ । त्यसैले पाँचदेखि सात दिन कुर्नु पर्दछ र उक्त समयमा छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्दछ ।’
काठमाडौं उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब संकलन केन्द्र राखिएको छ ।
त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि संक्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।