काठमाडौं– नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोनाभाइरस (कोभिड–१९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को संक्रमणको उच्च जोखिमबीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेरमात्रै काम गर्नसमेत महासंघले सञ्चारकर्मीलाई अपिल गरेको छ । सञ्चार प्रतिष्ठानले समेत अति आवश्यकबाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै महामारीको यो जटिल परिस्थितिमा नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको उनको भनाइ छ ।
संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना संक्रमण देखिनेक्रम बढेको महासंघले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।