कोलम्बो – मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को सुरुवाती खेल गुमाउने भएका छन् । व्यक्तिगत कारण मालिंगाले आईपीएलको केही खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।
आइपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ । मालिंगा आईपीएल सुरु हुँदा युएई पुग्ने छैनन् ।
क्रिकइन्फोका अनुसार मालिंगाको बुबा बिरामी रहेको र केही दिनमा उनको शल्यक्रिया हुनेछ । त्यसैले मालिंगा बुबासँगै रहने जनाइएको छ । त्यस बेला उनले श्रीलंकाको राजधानी कोलम्बोमै ट्रेनिङ गर्नेछन् ।
मालिंगाले गत सिजनको फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै मुम्बई उपाधि जिताउन भूमिका खेलेका थिए । उनले अन्तिम ओभरमा ८ रन डिफेण्ड गरेका थिए ।
चेन्नईले ५ बलमा ७ रन जोड्दै अन्तिम बलमा जितका लागि २ रन आवश्यक बनाएको थियो । तर मालिंगाले शार्दुल ठाकुरको विकेट लिँदै मुम्बईलाई १ रनको जित दिलाएका थिए ।
सुरुवाती ३ ओभरमा ४२ रन खर्चे पनि उनले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गरे । अर्को साता ३७ वर्ष लाग्ने मालिंगाले पछिल्लो पटक यही वर्ष मार्चमा वेष्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेलेका थिए । तर जुन –जुलाईमा भएको श्रीलंकाको आवासीय क्याम्पमा भने उनी सहभागी थिएनन् ।