काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मिडियामा आएका समाचारलाई लिएर स्पष्टिकरण दिएका छन् । पटक–पटक विवादमा पर्दै आएका पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरी अध्यक्ष बनाउन लागिएको भन्दै पछिल्लो पटक चर्चामा छन् ।
सम्धीलाई नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ भने ट्रोलहरू समेत बनेका छन् । मन्त्री पोखरेलले यस विषयमा बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले कुनैपनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा उनले आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन नगरेको जनाएका छन् । ‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।
यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु’ उनले भनेका छन्, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’
रक्षामन्त्री पोखरेलले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भनी कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाहीशासनका तिनै मतियारसमेतले नयाँ ढंगले आफ्नाविरूद्ध स्वर उरालिरहेको उल्लेख गरेका छन् ।