काठमाडौं– नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष राजीवविक्रम शाहले एक विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । कुटाईबाट उनी सख्त घाइते भएकी छिन् ।
गर्भवती रहेकी उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा गएकी थिइन् ।
यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि रु २१ हजार सहयोग गरेका छन् ।
अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ ।