काठमाडौं– नेपालमा कोरोना संक्रमितमात्रै होइन, मृत्युदर समेत बढ्दै गएको छ । शनिबार थप १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।
शुक्रबार मात्रै कोरोनाबाट १२ जना ज्यान गुमाएका थिए भने शनिबार पनि १२ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको शनिबार मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको हो । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।
यस्तैै, शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २४२ महिला र ६४२ पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुुनेको संख्या २० हजार ५५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् भने संक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ ।
कोरोना ‘हटस्पट’ बन्दै उपत्यका
यस्तै, काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्तायता यहाँ संक्रमितको संख्या अत्यधिक बढेको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् ।
शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमित बढेको बताउँछन् । बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौंमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरूको पिसिआर परीक्षण पनि हुन नसकेको डा. पुनको बुझाइ छ ।
बाहिरबाट आएका धेरैजसो संक्रमित लुकेरसमेत बसेको पाइएको छ । काठमाडौं उपत्यकाको जनघनत्व अत्यधिक हुँदा कोरोना संक्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । अहिलेकै अवस्थामा उपत्यकामा संक्रमण बढ्दै गए नियन्त्रण बाहिर जान सक्ने त्रास रहेको चिकित्सकहरूको भनाइ छ ।