काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माण तयारीबारे जानकारी गराएको छ ।
बागमती प्रदेशका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेश सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।
आइसोलेसन निर्माण तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो ।
गत मंगलबार नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा आयोजना भएको छलफलले काठमाडौंमा ६ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको थियो । सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो ।
काठमाडौंमा आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केही प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए ।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागि गरेको तयारीबारे जानकारी लिएपश्चात प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफू सकारात्मक रहेको प्रदेशसभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन् ।