काठमाडौं– नेपालका कारागारहरूमा कोरोना संक्रमण भयावह हुँदै गएको छ । भद्रकालीस्थित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ ।
दुई जनाको सोमबार र एक जनाको मंगलबार उपचारको क्रममा मृत्यु भएको कारागार कार्यालयले जनाएको छ । मृत्यु भएकामध्ये एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका कैदीको मेगा अस्पतालमा मृत्यु भएको थियो भने अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको बताइएको छ । यस्तै, मृत्यु भएका अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । एक जना मृतकको रिपोर्ट आउन बाँकी रहेको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
हालसम्म केन्द्रीय कारागारका रहेका ५२ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कारागारको सुरक्षामा कार्यरत ५६ प्रहरीमा समेत संक्रमण भएको छ । अन्य कैदीरबन्दीको परीक्षण हुन सकेको छैन । केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीरबन्दी छन् । धेरैको संख्यामा संक्रमण देखिएपछि व्यवस्थापनबारे माथिल्लो निकायसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए ।
केन्द्रीय कारागारमा मात्र नभएर देशभरका कारागारहरूमा संक्रमणको जोखिम रहेको बढ्दै गएको छ । उपत्यका बाहिर रहेका अधिकांश जिल्ला कारागारहरूमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । कतिपय कारागारहरूमा यसअघि केही कैदीबन्दीहरूमा संक्रमण देखिसकेको छ ।
यसैबीच संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदले जेलमा कोरोना समस्या बढेको भन्दै कैदीहरूलाई पछि फर्कने कागज गराएर छाड्न प्रस्ताव गरेका छन् । गृह मन्त्रालयले दुई तिहाई कैद भुक्तान गरिसकेकालाई समाजमै निगरानीमा रहने गरी छाड्ने प्रक्रियाबारे छलफल थालेको छ ।