डोटी– डोटी जिल्लामा रहेका नेपाली सेनाका २१ जनासहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप २४ जना थपिएसँगै डोटीमा कोरोना संक्रमितको संख्या ९ सय ४८ पुगेको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपालय सिलगढी नगरपालिकाका २३ जना र केआइसिंह गाउँपालिकाका–१ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् ।
संक्रमित हुने सेना ३७, २२, १९, २१, २०, ३५, २०, २२, २०, २४, २१,३५, १९, २०, २१, १९, २१, ३४, २०, ३९, र ३५ वर्षका उमेरका हुन् ।
सुदूरपश्चिम प्रदेशमा यति ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलोपटक हो । त्यसैगरी नै मंगलबार नै दिपालय सिलगढी नगरपालिका–६ का डेढ वर्ष र १४ वर्षका दुई बालक र केआइसिंह गाउँपालिका–४ का २९ वर्षका एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा डोटी र अछामका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ७७ जनाको कोरोना परीक्षण भएकामा डोटीका २४ र अछामका ७ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, दिपायल सिलगढी नगरपालिका–६ का दुई बालक र केआइसिंह गाउँपालिका–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।