- खुमेस सुवेदी -
शिक्षा एउटा यस्तो आधार हो जसले राष्ट्रको मुहार फेर्न सक्दछ, शिक्षा विना मानिसले अन्धकार जीवन विताउन वाध्य हुन्छन् । “काला अक्षर भैंसी बराबर” भनेर बुढापाकाले भनेझैं शिक्षा बिना हरेक व्यक्ति पशुतुल्य हुन्छ ।
त्यसैले आजको युग भनेको शिक्षाको युगको हो । हाम्रो मुलुकमा पनि आजको समयमा शिक्षालाई निकै महत्वका साथ हेरिएको छ । नेपालको साक्षरता दर वृद्धि गर्न सरकारलेनै नयाँ नयाँ कार्यक्रमहरु अगाडि सारेकोछ । शिक्षाकै महत्व बुझेर होला घरकि ८० बर्ष पुग्न लागेकि बुढि हजुर आमाले पनि ‘मलाई मेरो नाम लेख्न सिकाई दे त’ भन्न थालेको अवस्था छ । शिक्षाकै महत्व बुझेर होला भर्खरै जन्मेको दुधे बालकलाई पनि मन्टेश्वरीमा भर्ना गराउन थालिएकोछ । फेरि यो शिक्षा लिने भन्ने कुरा पनि कहिलै नसकिने रहेछ, एक कक्षा, दुई कक्षा गर्दै दश कक्षा पास गर्यो, अनि प्लस टु, ब्याचलर, मास्टर डिग्री, पि.एच.डि. आदि ।
शिक्षाको महत्व सबैले बुझेर अंगालेको अवस्थामा नेपालको परिक्षा प्रणालि भने अव्यवहारिक छ । हामिले बर्षभरि नियमित विद्यालय, कलेज, क्याम्पस गएर पढेको कुरा मात्र केहि घण्टा परिक्षा हलमा बसेर परिक्षा दिनुपर्ने । विद्यार्थिले लगातार पढ्दै अन्तिम पाठ सम्म पुग्दा पुनः पहिलो पाठको बिषयबस्तु बिर्सिसकेको हुन्छ । त्यस्तो अवस्थामा बर्षभरि पढेको ज्ञानलाई केहि समयमा उत्तर पुस्तिकामा उतार्न निकै गाह्रो हुन्छ । त्यसमा पनि सय पुर्णाङ्कको बिषयलाई ब्याचलर लेबल सम्म तिन घण्टा, अनि मास्टर लेबलमा लगातार चार घण्टा सम्म परिक्षा हलमा बसेर बर्ष भरि पढेका कुरालाई उत्तर पुस्तिकामा उतार्नु पर्ने । हुनत सबै लेबलमा उस्तै किसिमका समस्या देखिन्छन् त्यसमध्येको पनि जटिल समस्या भनेको स्नातकोत्तरमा सय पुर्णाङ्कको बिषयमा चार वटा लामो प्रश्न दिईएको हुन्छ जसमा तिन वटा अनिवार्य गर्नुपर्ने हुन्छ । एउटा प्रश्न बिस पुर्णाङ्कको हुन्छ यसको अर्थ तिन वटा प्रश्नको साठि पुर्णाङ्क, यदि तिन मध्ये कुनै एक प्रश्नको उत्तर जानिएन भने बिस र दुई वटा जानिएन भने चालिस पुर्णाङ्क घाटा हुन्छ । यसको अर्थ उक्त विद्यार्थी सो परिक्षामा अनुतिर्ण हुनसक्ने सम्भावना बढ्नु हो र अनुतिर्ण भएमा अरु थप एक वर्ष विद्यार्थीको समय बर्बाद हुनु हो । लगातार चार घण्टा सम्म विद्यार्थी परिक्षा हल भित्र बसिरहँदा पहिला जानेका प्रश्नहरुको उत्तर पनि बिर्सन लाग्छ, दिमाग र शरिरनै शिथिल हुने अवस्थामा पुगिसकेको हुन्छ । त्यस्को विकल्पमा अनिवार्य तिन प्रश्न गर्नु पर्नेमा कम्तिमा पाँच वटा प्रश्न सोधिएको अवस्थामा विद्यार्थीलाई प्रश्न छान्नमा सहजता हुन सक्दछ, त्यसरी विद्यार्थीलाई आत्मबल बढ्न सक्छ वा एउटा प्रश्नको बिस पुर्णाङ्कको साटो पन्ध सम्म गरि अनिवार्य चार प्रश्न हल गर्नुपर्ने व्यवस्था गरिएको खण्डमा पनि विद्यार्थीहरुलाई सहजता हुन सक्छ । यसरि थोरै प्रश्नको धेरै नम्बर राखेर प्रश्न पत्र तयार गर्दा विद्यार्थी सो बिषयको धेरै बिषयबस्तुमा जानकार भएतापनि दिइएका ति केहि प्रश्नको सहि जवाफ नजान्दा उसलाई उक्त बर्ष सोहि कक्षामा रोकिन बाध्य बनाउँछ ।
अन्ततः विद्यार्थि अघि पछि जतिनै जान्ने भएतापनि परिक्षा हलमा बसेको बेला प्रश्न पत्रमा दिएको प्रश्नको सहि उत्तरलाई उत्तर पुस्तिकामा लेख्न सकेन भने परिक्षामा अनुतिर्ण हुनुको विकल्प हुँदैन । फेरि बर्षभरि पढेका कुराहरुलाई दिईएको निर्धारित समय भित्र सम्झेर उत्तर पुस्तिकामा उतार्नु निकै कठिन मानिन्छ । विद्यार्थीहरु यस्तो खालको परिक्षा प्रणालि परिवर्तन हुनु अति आवश्यक रहेको महसुस गर्न थालेकाछन् । बर्षभरि पढेको कुराहरुलाई परिक्षा हलमा बसेर निश्चित तोकिएको समयले बर्षभरिको नतिजालाई निर्धारण गर्ने गर्दछ, त्यसैले यस्तो अवस्थामा परिक्षा प्रणालिलाई सुधार गर्नुपर्ने जरुरि देखिन्छ ।
(सुबेदी बास बर्दिया शाखाका अध्यक्ष हुन् ।)