काठमाडौं – प्रशिक्षक राजेन्द्र दुलालले १२ जना टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका छन् ।
सशत्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक दुलालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा विभागीय टिम एपीएफबाट सहभागी सहित विभागका खेलाडीको कोरोना बिमा गरिदिने भएका हुन् ।
१३ औं सागमा टेबल टेनिस खेलको ब्यवस्थापकको रूपमा काम गरेका दुलालले ७ पुरुष र ५ जना महिला खेलाडीको कोरोना बिमा गरिदिने बताए ।
‘कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । खेलाडीलाई मनोबैज्ञानिक रूपमा राहत प्रदान गर्न ब्यक्तिगत रूपमा बिमा गरिदिन लागेको हुँ,’ उनले भने ।
एपीएफका ४ खेलाडीले साग खेलकुदमा देशको प्रतिनिधित्व गरेका थिए । टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशस्त्र प्रहरी बल (एपीएफ)को प्रशिक्षकको रूपमा कार्यरत छन् ।