कायरो– इटालीका विदेशमन्त्री लुइजी डी माइयोले युद्धरत लिबियाका नेतासँग भेटवार्ता गरेको छ । राष्ट्रसंघको मान्यताप्राप्त लिबियाली सरकार र विपक्षीबीच युद्धबिराम भएलगत्तै इटालीका विदेशमन्त्री माइयो मंगलबार त्रिपोली पुगेको हो ।
त्रिपोलीमा उनले लिबियाली सरकार प्रमुख फायेज सर्राजसँग भेटवार्ता गरेको छ । लिबियाली अधिकारीहरूका अनुसार मन्त्री माइयोले टोब्रुकस्थित विपक्षी संसदका सभामुख अगिला सालेहसँग पनि भेट गर्नेछन् ।
सन् २०११ मा नेटोको अग्रसरतामा भएको आन्दोलनबाट मोहम्मद गद्दाफीको शासन ढलेयता लिबियामा अस्थिरता जारी छ । लिबियाको राजधानीसहितका क्षेत्रमा पश्चिमा राष्ट्रहरू र राष्ट्रसंघ समर्थित सरकार रहेको छ भने पूर्वी क्षेत्रमा खलिफा हिफ्तारका लडाकूहरूको नियन्त्रण छ ।
सर्राजले गत अगष्ट २१ मा युद्धबिरामको घोषणा गर्नु भएको थियो । उहाँले सर्ते शहरलाई गैरसैनिक क्षेत्र बनाउन आह्वान समेत गर्नु भएको छ । यो शहरहुँदै लिबियाको मुख्य तेल निर्यात टर्मिनल पुग्न सकिन्छ जहाँ हिफ्तारका लडाकूको नियन्त्रण कायम छ ।
सर्राजको कार्यालयले जारी गरेको वक्तव्यमा डी माइयोसँगको भेटवार्तामा स्थायी युद्धबिराम र सर्ते तथा जुफ्रालाई गैरसैनिक क्षेत्रमा रूपान्तरण गर्ने बारेमा सालेहसँग सम्झौता भएको जनाइएको छ ।
यसैबीच, युरोपेली युनियनका विदेश मामिला प्रमुख जोसेफ बोरेलले पनि त्रिपोलीमा सर्राजसँग भेटवार्ता गरेको छ ।
विगतमा पनि युद्धरत दुबै पक्षबीच युद्धबिराम भए पनि त्यो दिगो हुन सकेको थिएन ।
हिफ्तारका सैनिकले त्रिपोलीलाई नियन्त्रणमा लिन सन् २०१९ को अप्रिलदेखि सशस्त्र कारबाही थालेको थियो ।
तर टर्कीको सहयोगमा त्रिपोली सरकारले हिफ्तारको अभियानलाई गत जुनमा धराशायी बनाएको थियो । त्रिपोली नजिक पुगेका हिफ्तारका सैनिकलाई त्रिपोली सरकारले परास्त गरेको थियो ।