कोहलपुर/नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणका लागि कडाइ अपनाएको छ।
मंगलबार अपराह्नमात्रै वितरण केन्द्रबाट खटी गएको टोलीले कोहलपुर नगरपालिका अन्तरगतको वडा नं १२को खडगवार टोलबाट विद्युत चुहावट गर्दै गरेका ११ थान मिटर कार्यवाहीका लागि नियन्त्रणमा लिएको छ। मिटर बाइपास गरेर चुहावट गर्दै भेटिका ती मिटरहरु संगै हुकिङ्ग गर्दै गरेका अन्य घरबाट १ थान २ एचपीको पानी तान्ने मोटरपनि नियन्त्रणमा लिएको वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जनाउनु भएकोछ।
उक्त कार्यवाहीबाट लगभग ४ लाख बढी राज्श्व संकलन हुने अनुमान गरिएको छ । रात्रीकालिन समयमा छ्डके निरीक्षण गर्दै आएतापनि केही समययता अपराह्न समयमा पनि चुहावट नियन्त्रण टोली सक्रिय गराएको वितरण केन्द्र प्रमुख लामिछानेले बताउनु भयो । राती भन्दा दिउसैपख विद्युत चोरी गर्नेहरु भेटिन थालेपछि चुहावट टोली दिउसोपनि सक्रिय गराएका हौं- प्रमुख लामिछानेले भन्नुभयो।
चुहावट नियन्त्रणमा कडाइ अपनाएपछि चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कोहलपुर वितरण केन्द्रले १६ लाख १२ हजार १ सय९७ रुपैयाँ रकम संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिनु भएको छ ।
गत ज्येष्ठसम्म २३ प्रतिशत सम्म रहेको कोहलपुर वितरण केन्द्रको विद्युत घाटा अहिले १४।१८ प्रतिशतमा झरेको जनाइएको छ।
सक्रियतापछि पाएको सफलताले थप उर्जा मिलेको छ, हामी थप कडाइका साथ निरन्तर चुहावट नियन्त्रणमा अगाडि बढेका केन्द्र प्रमुख लामिछानेले बताउनु भयो । मिटरमा चलखेल गरेर, मिटरसम्म आउने मुख्य सर्विस तारमै बाइपास गरेर, हुकिङ्ग गरेर लगायतका तरिका अपनाएर विद्युत चुहावट हुने गरिएको बढी भेटिने गरेको बताइएको छ।