हेटौँडा–वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना संक्रमितहरूको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री पौडेलले अनुगमनको अवसरमा सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले आइसोलेसन वार्डको व्यवस्था धमाधम गरिरहेको बताए ।
उनले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका केहि दिनमा कमजोरी रहेको श्विकारे । तर हाल सेवा प्रवाहमा कुनै कमजोरीहरू नरहेको जनाए । उनले वार्ड स्थापना र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नेसँग आफु सन्तुष्ट रहेको जनाए ।
उनले वाग्मती प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा निरन्तर लागिरहेको उल्लेख गरे । मुख्यमन्त्रीले प्रदेश सरकारले पछिल्लो अवस्थामा कारोना भाइरसको महामारी व्यापक बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
मुख्यमन्त्री पौडेलले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरूपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकाले अस्पताल नभएका स्थानमा अस्पताल स्थापना गर्ने र भएका स्थानहरूमा सेवा थप गर्ने कामलाई तीव्र पारेको बताए । उनले भने, ‘जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरूपमा स्वास्थ्योपचार गर्न पाउनु हो, हामी यसका लागी लागीरहेका छौँ’ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको उद्देश्य प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको उनले जानकारी गराए ।
उनले प्रदेशका विभिन्न अस्पताललाई सेवा सुविधा वृद्धि गर्दै प्रदेशस्तरको अस्पतालका रूपमा स्तरोन्नति गर्न लागिएको जानकारी दिए ।
प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडाँै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।