नयाँदिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ ।
यस्तै दोस्रो दिन नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ । तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दा चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग खेल्नेछ ।
यस्तै पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ ।
आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ ।
यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ । प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।