जेरुसेलम–इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कफ्र्यु) लगाइने आइतबार घोषणा गरेको छ ।
इजरायली वरिष्ट अधिकारीहरूको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरू घोषणा गर्नुपरेको हो ।
पछिल्ला दिनहरूमा इजरायलमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कफ्र्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरूलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ ।
इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रूपमा लिएका थिए । तर मे महिनामा नियमहरूलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि सङ्क्रमण फैल्याउन मद्दत गरेको छ । पछिल्ला दिनहरूमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिन थालेको छ । सरकारले सङ्क्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।
समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
प्रधानमन्त्री नेतन्याहूले नियुक्त गरेका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा. रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना सङ्क्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृङ्खला रोक्ने रहेको छ ।
इजरायली अधिकारीहरूमाथि व्यवसाय र विद्यालयहरू चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ ।