काठमाडौं– स्वास्थ्य तथा जनसंयामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न थप स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समिति (दक्षिणपूर्वी एशिया)को ७३औँ बैठकलाई भर्चुुअल सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेकाले त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताए । मन्त्री ढकालले भूकम्प र त्यसपश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको बताए ।
मन्त्री ढलकाले भने, ‘कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सवल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ ।’ उनले यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भएपनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको बताए । नेपालले बन्दाबन्दीको शुरूआती चरणदेखि सबै स्वास्थ्य संस्थाहरूलाई निरन्तर खोली र सेवा दिने कुराको सुनिश्चितता गरेको उनले बताए ।
मन्त्री ढकालले विश्व स्वास्थ्य संगठनका कर्मचारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिहरूको निरन्तरताका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
मन्त्री ढकालले महामारीमा अत्यावश्यक सेवाको सुनिश्चितता चुनौतीपूर्ण हुन जाने भन्दै र यस चुनौतीको निवारणका लगि टेलिमेडिसिन, कल सेन्टरजस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अंग बन्नुपर्ने पनि बताए ।
विभिन्न बाधा, व्यवधानका बाबजुद नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ जिल्लामा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक सञ्चालन गरेको स्पष्ट गर्दै मन्त्री ढकालले सो क्षेत्रीय समितिले खोपलगायत जेनेरिक औषधिको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायले आआङ्खना कार्यलाई थप बढावा दिई कोभिड–१९ को नियन्त्रणका लागि चाँडै खोपलगायत अन्य प्रविधिगत समाधान पहिल्याउन सक्ने विश्वास व्यक्त गरे । उनले क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाइमा पु¥याई विश्वलाई कोभिड–१९ महामारीविरूद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सक्नुपर्ने बताए ।