काठमाडौं–प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दूरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्यारउने विचार व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । सबैको साझा शत्रुको रूपमा कोभिड–१९ लाई लिई यसको नियन्त्रणमा लाग्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू र प्रदेश प्रहरी प्रमुखहरूको भर्चुअल्ली उपस्थिति रहेको थियो ।