दोहा– कोरोना भाइरसका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूताबासमा नाम दर्ता गराएका नेपालीहरूका लागि नेपाल एयरलाइन्सले थप ६ उडान गर्ने भएको छ ।
दूताबासले सार्वजनिक गरेको उडान तालिका अनुसार सेप्टेम्बर १५, १६ र १७ का लागि यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट लिन छुटेका व्यक्तिहरूले टिकट लिइसकेको समेत जनाएको छ ।
यस्तै, सेप्टेम्बर
२२, २४ र २५ का लागि तय भएका उडानहरूका लागि
१५ सेप्टेम्बरबाट मात्र टिकटका लगि सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ ।
उक्त उडानका लागि प्राथमिकतामा परेका यात्रुहरूको नामावली पनि सार्वजनिक गरेको छ ।
स्वदेश फर्किने यात्रुहरूले नेपाल सरकारको निर्णयबमोजिम पिसिआर परीक्षण गरी ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूताबासले जनाएको छ ।
पिसिआर परीक्षण नगरी जान चाहनेहरूको हकमा आङ्खनै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरू एउटै उडानमा यात्रा गर्न नपाइने व्यवस्था रहेको जनाएको छ ।
होटल क्वारेन्टिनको खर्च टिकट लिने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाइन्सले नै गर्नेछ ।
पिसिआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राइभेट अस्पतालहरूमा सम्पर्क राख्न सकिने दूताबासले जनाएको छ ।
हवाई भाडा पूर्वसूचनामा उल्लेख भएबमोजिम कतारी रियाल
१ हजार ४ सय ३० लाग्नेछ ।
साथै दूताबासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाइ टिकट खरिद गर्न थप शुल्क (रकम) बुझाउनु परेको केही गुनासाहरू प्राप्त भएको भन्दै यस प्रकारको कुनै शुल्क तिर्नु नपर्ने दूताबासले जनाएको छ ।
कसैले यस प्रकारको शुल्क वा रकम असुल गरेको पुष्टि भएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दूताबासले जनाएको छ ।