काठमाडौं– करिब ६ महिनापछि आन्तरिक उडान र लामो दूरीका यातायात आजदेखि सञ्चालनमा आउँदैछ ।
कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण गर्न गत ११ चैतदेखि सरकारले लकडाउन जारी गरेसँगै उडान र लामो दूरीका यातायात बन्द थियो ।
नेपालीको महान चार्ड दशैँ नजिकिँदै गर्दा सरकारले लकडाउनलाई खुकुलो बनाउँदै आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने अनुमित दिएको हो ।
यसअघि नै अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालनमा आइसकेको छ ।
यसरी लकडाउन खुकुलो बनाउँदै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान र यातायात सञ्चालनमा ल्याएपनि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ ।
उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठकले अनिश्चितकालसम्म यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोहीअनुसार कार्यालयहरूले आदेश जारीसमेत गरेका छन् ।
अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।
प्रशासनको आदेशअनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टीलगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।