काठमाडौं – मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव गरेका छन् ।
कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् ।
कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रीपूर्ण खेलेका लागि प्रस्ताव आएको छ ।
एन्फाले दुई होम गेमसँगै एक अवे खेलका लागि प्रस्ताव आएको जानकारी दिएको छ ।
एन्फाका प्रवक्ता किरण राईले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताए ।
उनका अनुसार नेपाललाई दक्षिण एसियाली मुलुक बंगलादेशसँगै एसियाली मुलुक मंगोलिया र क्यारेबियन मुलुक डोमेनिकन रिपब्लिकको प्रस्ताव आएको छ ।
बंगलोदशले नेपाललाई अवे खेलेका लागि समेत प्रस्ताव राखेका छ भने मंगोलिया र डोमेनिकन रिपब्लिक भने नेपाल आउन मात्र पनि राजी छ ।
सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण फुटबलका गतिविधि सुरु हुन पाएका छैनन् ।
गत चैत ११ गतेबाट सुरु भएको लक डाउनका कारण सरकारले खेलकुदका गतिविधि पूर्ण रूपमा बन्द गरेको छ ।
जसका कारण मैत्रीपूर्ण खेलका लागि एन्फाले मिति तय गरेको छैन ।
एन्फा प्रवक्ता किरण राईले सरकारले खेलकुद गतिविधि सुरु गर्ने अनुमति नदिदाँ मैत्रीपूर्ण खेलका लागि मिति तय नभएको बताउँछन् ।
‘सरकारबाट अभ्यासकै अनुमति पाएका छैनौं । जसका कारण मैत्रीपूर्ण खेलको मिति तय भएको छैन ।’ उनले भने ।
नेपालसँगै बंगलादेशले पनि फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेल खेलिरहेको छ ।
कोरोना महामारीका कारण हाल एसियाली फुटबल महासंघले आङ्खना सम्पूर्ण प्रतियोगिताहरू सन् २०२१ सम्मका लागि स्थगित गरेको छ ।
नेपाल फिफा बरियतामा
१ सय ७० औं स्थानमा रहेको छ ।
मंगोलिया
१ सय ९० औं र डोमेनिकन रिपब्लिक
१ सय ५८ औं स्थानमा छ ।