काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ ।
एन्फाका पदाधिकारीहरूले आज राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरू निकै मारमा परेकाले उनीहरूलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।
विस्तारै सवै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।
उनले खेल क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले प्रशिक्षणको अनुमति दिनुपर्ने उल्लेख गरे ।
प्रारम्भमा सरकारले प्रशिक्षणको बाटो खोली दिनुपर्ने अध्यक्ष शेर्पाको माग थियो ।
खेलाडीलाई अभ्यासमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ थियो ।
विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि बिना दर्शक प्रतियोगिताहरू सञ्चालन गर्न सकिनेतर्फ एन्फाले सरकारको ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा राखेप सदस्य सचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।
एन्फा प्रवक्ता किरण राईले केही देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि एन्फालाई प्रस्ताव गरेको जानकारी दिए ।
आगामी नोभम्बर र डिसेम्बर महिनामा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव आएको उनले बताए ।
बंगलादेश, मंगोलियालगायत देशले खेलका लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावबारे एन्फाले छलफल अघि बढाएको प्रवक्ता राईको भनाइ छ ।
सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो । एन्फाले खेलाडीलाई प्रशिक्षण शुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो ।
सो क्रममा खेलाडीहरूको पिसिआर परीक्षण समेत गरिएको थियो ।