काठमाडौं– नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् ।
भारतको
‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएका हुन् ।
आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् ।
परियार अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् ।
उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए । परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।
अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए ।