दोहा– ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धन मन्त्री काइस मोहम्मद अल युसुफबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राजदूत पराजुली ढकालले मन्त्री अल युसुफको कार्यकक्षमा भेट गरी ओमानको व्यापार, उद्योग तथा लगानी प्रबद्र्धन मन्त्रीको रूपमा नियुक्त भएकामा मन्त्री युसुफलाई बधाइ ज्ञापन गरेकी थिइन् ।
मन्त्री युसुफसँगको भेटमा नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउँदै नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले नेपालका जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनजस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको बताउँदै लगानीका लागि विशेष अनुरोध गरेको राजदूत पराजुलीले जानकारी दिइन् ।
मन्त्री अल युसुफले नेपालको जलविद्युत् तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताएका थिए ।
उनीहरूको भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, बाणिज्य तथा लगानी प्रबद्र्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भएको राजदूत पराजुलीले जानकारी दिइन् ।
उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समीको पनि उपस्थिति रहेको थियो ।