काठमाडौं– विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान यही ५ असोजदेखि नियमित सञ्चालन हुँदै छ ।
बन्दाबन्दीले करिब ६ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेको बताएका छन् ।
स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।
यही
५ असोजदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् ।
शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।
शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनले भने, ‘असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ ।’
एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ ।
सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने संघले जनाएको छ ।
शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।
अब छिट्टै उडान संख्या बृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ ।
बुद्धले आङ्खना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।
बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरूप उडान संख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ ।