दोहा– ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीले नेपालको सास्कृतिक विविधताको खुलेर प्रशंसा गरेका छन् ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा मन्त्रीले बिहीबार नेपालको प्रसंशा गरेका हुन् ।
राजदूत ढकालले पर्यटन मन्त्रीसँग नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीय स्थलहरूको वर्णन गर्दै पछिल्लो दिनमा ओमानबाट जाने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी गराउँदै आगामी दिनमा समेत मन्त्रीलगायत समस्त ओमान सरकारबाट पर्यटन प्रवद्र्धनमा सहकार्यका लागि अनुरोध गरेको जानकारी दिएकी छन् ।
मन्त्री अल मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्परता रहेको बताए ।
उनले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरेको राजदूत ढकालले बताइन् ।
मन्त्री अल मरहुक्कीले ओमानको पर्यटन प्रबद्र्धनमा नेपाली जनशक्तिको विशेषगरी हस्पिटलिटीको क्षेत्रमा राम्रो योगदान रहेको उल्लेख गरेका थिए ।
उक्त छलफलमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।