दोहा– युएईमा सात महिनादेखि अलपत्र परेका १७ नेपालीले आफूहरूको उद्धार नगरे सामूहिक आत्महत्या गर्ने बताएका छन् । स्वदेश फर्किनका लागि दुबई विमानस्थल पुगेर जरिवाना तिर्न नसकेपछि विमानस्थलमै अलपत्र परेका उनीहरू भोकभोकै सडकमा बस्न बाध्य भएपछि आफूहरूलाई उद्धार नगरे सामूहिक आत्महत्याभन्दा अर्को विकल्प नभएको बताए ।
दुबई विमानस्थल पुगे पनि जरिवाना तिर्न नसकेर विमानस्थलमै अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युएईले अहिलेसम्म खान बस्नको व्यवस्था गरेको थियो । तर, पछिल्लो समयमा आएर एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाले अब पाल्न नसक्ने भन्दै कोठा छाडेर जान दबाब दिएको उनीहरूले बताएका छन् ।
उनीहरूका अनुसार यसघि एनआरएनएले उद्धार गर्ने भन्दै राखे पनि अहिले केही गर्न नसक्ने भन्दै खानसमेत बन्द गरेर एनआरएनएका प्रतिनिधिहरू सम्पर्कविहीन भएका छन् । ‘विमानस्थलबाट उद्धार गरेको गैरआवासिय नेपाली संघले पनि हाम्रो साथ छाड्यो, अब कहाँ जानु, युएईस्थित नेपाली दूताबासमा फोन गर्ने पैसा पनि छैन,’ रुकुमका नवीन परियारले भने, ‘हामीलाई कि त दूताबाससम्म पु¥याइदिनू, दूताबास र नेपाल सरकारले उद्धार गर्न सकेन भने दुबई प्रहरीलाई जिम्मा दिनु युएई सरकारले जे गर्छ भोग्न तयार छौँ ।’
उनीहरूका अनुसार गत १० अगस्टमा आफूले लगाउने कपडासहित सबै लगेज विमानस्थलमै छाडिएकाले अहिले फेर्ने कपडासमेत उनीहरूसँग छैन । ‘घरबाट कहिले आउने भनेर बारम्बार फोन गर्छन्,’ अर्घाखाँचीका कृष्णबहादुर गन्धर्वले भने, ‘हामीले के जवाफ दिने हामीसँग केहि जवाफ नै छैन । अब हामीलाई नेपाल सरकार तथा सम्बन्धित निकायले उद्धार गर्न चासो दिएन भने हाम्रो एक मात्र विकल्प भनेको सामूहिक आत्माहत्या गर्नु हो ।’
एनआरएनएले विमानस्थलबाट उद्धार गर्छौँ भन्दै ल्याउनुको कारण के थियो र पटक–पटक आज उडाउँछौँ, भोलि उडाउँछौँ भने अहिले केही गर्न सक्दैनौँ भनेर सडकमा छोडीदिएको उनले बताए ।
उनले भने, ‘एनआरएनएले खाना बन्द गरेपछि अहिले उत्तम भण्डारीले नेपाली नाताले दुई चार दिनसम्मका लागि खाना दिने भनेका छन् । त्यसपछि हाम्रो बास सडकमा भन्दै उनीहरूले नेपाल सरकार नेपाली दूताबासलगायत सम्बन्धित निकायलाई आफूहरूको उद्दारका लागि पहल गरिदिन आग्रह गर्दछु ।’
एनआरएनएका प्रतिनिधिलाई फोन गर्दा कहिले फोन काट्ने तथा नउठाउने गरेको र पछिल्लो समय त फोन अफ गरेर उनीहरू बेपत्ता भएको उनीहरूले आरोप लगाएका छन् । युएईको ङ्खलेक्स ङ्खयासेलेटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत रहेका उनीहरूको युएई पुगेको एक महिनामै रोजगारी गुमाएका थिए भने अहिले ७ महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् ।
यस्तै युएईमा अलपत्र बारा कलैयाका शिवबच्चन रौनिया र अजय महतको पनि अहिलेसम्म उद्धार हुन सकेको छैन । उनीहरू पनि ७÷८ महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् । यस विषयमा एनआरएनए युएईका पदाअधिकारीहरूसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् भने दूताबाससँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।