ओस्लो– नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता बिरामी बिदामा बस्नुभएको दरबारले जानकारी गराएको छ ।
गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।
अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म बिदामा बस्नुहुनेछ ।’ उनान्तीस वर्षदेखि नर्वेको राजगद्दीमा रहेका राजा हेराल्डलाई शुक्रबार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ ।
उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।
सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिनुभएका उहाँ युवा अवस्थामा जलक्रिडामा रमाउने गर्नुहुन्थ्यो । राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतीकका रूपमा हेर्छन् ।
उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । उनलाई जनवरीमा पनि चक्कर लागे पछि अस्पतालमा एक हप्ता राखिएको थियो ।
करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।