काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाई फर्कन चाहने नेपाली श्रमिकहरूबाट बढी भाडा असुल्ने एयरलाइन्स कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशस्थित कूटनीतिक नियोगसँग फर्कने कामदारको विवरण लिई हवाई उडान थप गर्नुपर्ने र अहिलेको भन्दा सस्तो भाडा कायम गरी बढी भाडा लिने ट्राभल एजेन्सी तथा एयरलाइन्स कम्पनीहरूलाई संघले कारबाहीको माग गरेको छ ।
कामदार फर्काउनका लागि कूटनीतिक नियोगमार्फत ह्वाइ भाडाको अध्ययन गरेर अहिलेकोभन्दा सस्तो भाडामा कामदारलाई फर्काउन माग गरिएको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् ।
उनले भने, ‘विगतमा सरकारले तोकेको भाडादर श्रमिकका लागि अत्यन्तै महँगो छ । सरकारले तोकेको उक्त भाडादरले श्रमिक फर्किन सक्ने अवस्था छैन । त्यसैले सरकारले पुनः भाडादर घटाएर तत्काल श्रमिक फर्कने वातावरण बनाउनुपर्छ ।’
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कोभिड–१९ को समस्याले रोजगारी गुमाई फर्कन चाहने नेपाली श्रमिकको भिसा अवधि समाप्त भई फिर्ता हुन चाहनेका संख्या बढ्दै गएको अवस्थामा सरकारबाट तीव्र उद्धार नभएको महासचिव श्रेष्ठले बताएका छन् ।
उनका अनुसार सरकारले भिसा अवधि समाप्ति भई झेल्नुपर्ने समस्याको समाधानका लागि सरकारले कूटनीतिक तवरबाट सम्बन्धित देशको सरकारसँग समन्वय गर्नुपर्छ ।
भिसा अवधि समाप्त भई ओभर स्टे शुल्क तिर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि सरकारसँग संघले माग गरेको छ । यसतर्फ सम्बन्धित रोजगारदाता कम्पनी र स्वयं कामदारले हवाई टिकट सहजरूपले नपाउँदा ओभर स्टेमा पर्नु परेको संघको जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले कतिपय कामदारहरू हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकि बिमानस्थलबाटै फर्किएको अवस्था रहेको भन्दै यसतर्फ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष ध्यान दिनुपर्ने संघको माग रहेको छ । ‘ओभर स्टेका कारण नेपाली कामदारलाई थप मानसिक पीडा भएको छ ।
यसकारण यी उल्लेखित बिषयहरूमा मन्त्रीज्यूबाट चाँडोभन्दा चाँडो समस्याको समाधन गरी फर्कन चाहने कामदारहरूलाई फिर्ता ल्याउने वातावरण जुटाइदिन अनुरोध गरिन्छ ।’