चितवन – निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले मंगलबार रु ५० लाख हस्तान्तरण गरेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु ४ करोड मध्ये पहिलो चरणमा रु ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए ।
उनले क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने जानकारी दिए ।
महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् ।
उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिइन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रंगशाला निर्माणको काम भईरहेको छ ।