नेपालगञ्ज/नेपालगञ्ज स्थित औषधी ब्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारी क्रमशः रंगेहात पक्राउ परिरहेकाछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा कार्यालयका कर्मचारी एक पछि अर्काे पर्न थालेपछि कार्यालय घुस्याहहरुको अड्डा रहेको तथ्य उजागर भएकोछ ।
कार्यालयका फर्मेसी निरीक्षक (अधिकृत) तपेन्द्र भट्टाईलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले ५० हजार घुससहित रंगेहात पक्राउ गरेकोछ ।
सेवाग्राहीसंग घुस लिईरहेको अवस्थामा भट्टराईलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएकोछ । मेडिकल दर्ता प्रकृयामा सहजता बनाईदिने भन्दै सेवाग्राहीसंग ५० हजार रुपैया घुस मागेको उजुरीका आधारमा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका थिए ।
यसअघि गत फाल्गुन दोस्रो साता पनि सोही कार्यालयका फार्मेसी निरीक्षक एवम् सुचना अधिकारी पुष्प रानाक्षेत्रीलाई २८ हजार घुस सहित अख्तियार टोलीले पक्राउ गरेको थियो ।
एक रेष्टुरेन्टमा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले उनलाई रंगेहात पक्राउ गरेको थियो । मेडिकल सञ्चालकसंग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार टोलीले रानाक्षेत्रीलाई पछ्याउँदै पक्राउ गरेको थियो । यि दुई जनालाई पक्राउ गर्नुपूर्बनैं अख्तियारले एक जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो ।