काठमाडौं– वैदेशिक रोजगार ऐनअन्तर्गतको नियमविपरीत वैदेशिक रोजगारीमा गएका अलेखबद्ध श्रमिकहरूलाई उद्धार नगरेर किनारामा पारिएको छ ।
ऐनअन्तर्गत गएकाहरूलाई नागरिक सम्झेर वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गर्ने तर, अदृश्य रूपमा राज्यलाई आर्थिक योगदान पर्याउन भूमिका खेल्ने अलेखबद्ध कामदारलाई भने अनागरिक सम्झेर सरकारले उद्धारमा बेवास्ता गरेपछि उनीहरू किनारामा परेका हुन् ।
मंगलबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा किनारामा पारिएका अलेखबद्ध श्रमिकहरूको उद्धारमा अन्य श्रमिकलाईझैँ राज्यले कुनै सेवा सुविधामा वञ्चित गर्न नहुने सरोकारवालाहरूले बताएका छन् । ऐनबमोजिम विदेशिने श्रमिक नागरिक हुने तर, अलेखबद्ध श्रमिकहरू अनागरिक हुने भ्रम रहेको पनि सरोकारवालाहरूले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य समेत रहेका सांसद एलपी सावाँ लिम्बूले अलेखबद्ध श्रमिकहरू अनागरिक नभई नेपालकै नागरिक भएको र उनीहरूको उद्धारमा राज्यले अन्य श्रमिकहरूझैँ प्रबन्ध मिलाएर उद्धार गर्नुपर्ने बताएका छन् । ‘ऐनबमोजिम गएकाहरूलाई कोषमार्फत उद्धार गर्ने भनेर उद्धार निर्देशिका जारी गरिएको छ ।
तर, अलेखबद्ध कामदारहरूको हकमा त्यो नियम बनेको छैन,’ उनले भने, ‘तर, अलेखबद्ध कामदार पनि नागरिक हुन् र राज्यले प्रबन्ध मिलाएर अन्य श्रमिकलाई कोषको रकमले उद्धार गरझैँ उद्धार गर्नुपर्छ ।’सांसद लिम्बूका अनुसार खासगरी घरेलु कामदारको ठूलो हिंसा महिला श्रमिकहरू गइराखेका र तिनै महिला श्रमिकहरू अलेखबद्ध बनेको बताएका छन् । उनले भने, ‘खासगरी महिलाहरू संवेदनशील हुन्छन्, उनीहरूलाई सुरक्षा दिनुपर्छ । उनीहरू विदेश जाँदा असुरक्षा हुन्छन् भन्ने भावनाले राखेर घरेलु कामदारका रूपमा मलेसियालगायत खाडीमा घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाउँदा नेपाली श्रमिकहरू अलेखबद्ध बन्न बाध्य भएका छन् ।’
वैदेशिक रोजगारीमा गएका महिलाहरू मात्रै शोषित र पीडित हुन्छन् भन्ने गलत सोचले कानुन निर्माणतर्फ अग्रसर हुन समस्या भएको पनि उनले बताएका छन् । खासगरी आर्थिक स्थिति कमजोर भएका, बेरोजगार, न्यून साक्षरता भएका, एकल तथा परिवारको सम्पूर्ण जिम्मेवारी आफैँ सम्हाल्नुपर्ने अबस्थाका महिलाहरू वैदेशिक रोजगारीमा जाने प्रवृति देखिएको उनको भनाइ छ ।
उनका अनुसार समुदायगत हिसाबले हेर्दा वैदेशिक रोजगारीमा जाने महिलामध्ये सबैभन्दा बढी ३७ प्रतिशत जनजाति, ३३ प्रतिशत दलित र बाँकी ३० प्रतिशत अन्य समुदायका रहेका छन् ।
अवैध बाटो हुँदै जाने श्रमिकहरू तथा भिजिट भिसामा गएर काम गर्ने श्रमिकहरूलाई अनागरिक भन्न नमिल्ने र उनीहरूलाई राज्यको कुनै सेवा सुविधाबाट वञ्चित गर्न नहुने उनले बताएका छन् ।
तत्कालीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले ०७३ सालमा गन्तव्य मुलुकहरूमा भ्रमण गरी घरेलु श्रमिकहरूका सम्बन्धमा अध्ययन गर्दा श्रमिकहरू निकै जोखिममा रहेको पाइएपछि तत्काल बन्द गरी श्रम सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिए तापनि सरकारले हालसम्म निर्देशनको पालना गर्न नसकेको पनि उनले स्पष्ट पारे ।
उक्त कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता तथा श्रमविज्ञ सरु जोशीले सरकारले लगाएको प्रतिवन्धका कारण अलेखबद्ध बन्न बाध्य बनेका श्रमिकहरू हकअधिकारबाट समेत वञ्चित रहेकाले यसमाथि राज्यले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताएकी छन् । उनका अनुसार अलेखबद्ध श्रमिकहरूको संख्या वैधानिक हैसियतमा गएका अभिलेखबद्ध श्रमिकहरूकै हाराहारीमा रहेका छन् ।
लगभग १ लाख ५० हजारभन्दा बढी अलेखबद्ध श्रमिकहरू घरेलु कामदारका रूपमा रहेको उनले बताएकी छन् । सरकारले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाउँदा अवैधबाटो हुँदै जानुपर्ने स्थितिले ठूलो संख्यामा नेपाली श्रमिकहरू अलेखबद्ध बन्न बाध्य रहेको तथा उनीहरू राज्यको सेवासुविधाबाट समेत वञ्चित बन्न बाध्य बन्नुपरेको उनको भनाई छ ।
त्यस्तै कतिपय श्रमिकहरू भिजिट भिसामा जाने र त्यहाँ गएर काम गर्ने हुँदासमेत अलेखबद्ध बन्नुपरेको उनले बताएकी छन् । ‘यसरी अलेखबद्ध बनेका श्रमिकहरूको सबैभन्दा ठूलो समस्या चाहिँ अनागरिक बन्नुपर्ने अबस्था छ । राज्यले नै नचिनेपछि अहिले अलेखबद्ध श्रमिकहरूले आफ्नो अस्तित्व नै गुमाएको अबस्था छ,’ उनले भनिन् ।
अन्य श्रमिकहरूको उद्धार जति सजिलो त्यति अलेखबद्ध श्रमिकहरूको उद्धार सजिलो नभएको पनि उनले बताएकी छन् । एकातिर अलेखबद्ध श्रमिकहरूलाई आफ्नै पहिचानको समस्या र अर्कातिर सरकारले अनागरिकका रूपमा दर्ज गर्नु नै मुख्य समस्या रहको उनको दाबी छ ।
मुख्यतः दूतावासबाट पाउने सूचनाबाट समेत अलेखबद्ध श्रमिकहरू वञ्चित हुनुपरेको उनले बताएकी छन् । यद्यपि, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालयजस्ता अन्तरसम्बन्धित मन्त्रालयले समन्वयात्मक ढंगले एकीकृत रूपमा काम गर्न सके मात्रै समस्याको समाधान खोज्न सकिने उनको निष्कर्ष रहेको छ ।