
काठमाडौं – कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरू खुलेपनि नियमित उडान भने पहिलेभन्दा कम छन् । जसकारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पहिलेजस्तो भिड छैन । यही बेला गत १४ असोजमा एउटा चार्टड विमान त्रिभुवन विमानस्थलमा देखापरेको थियो ।
त्यो विमान अमेरिकी सुरक्षा अधिकारीको थियो । जसमा ७ जना नेपालीसमेत थिए ।
यसरी अमेरिकी सुरक्षा अधिकारीले चार्टर गरेको विमानमा आउने पाउने उनीहरू ठूला व्यक्ति थिएनन्, अमेरिकामा जेल बसेर छुटेका नेपालीहरू थिए ।
अमेरिकाले फर्काएका सातमध्ये एकजना भिजिट भिसामा अमेरिका पुगेका थिए ।
गाडी चलाउने क्रममा दुर्घटनामा परेपछि करिब एक महिना जेल बसेर उनी छुटेका थिए ।
अन्य ६ जना दलालको पछि लागेर अमेरिका पुगेका व्यक्ति थिए ।
तर, उनीहरूको अमेरिकाको सपना पूरा हुन पाएन ।
मेक्सिकोको सीमामै पक्राउ परेका उनीहरू करिब दुई वर्ष जेल बसेर छुटेका हुन् ।
छुटेलगत्तै उनीहरूलाई अमेरिकाकाको अध्यागमन तथा सुरक्षा अधिकारीहरूले चार्टड प्लेनमा नेपाल ल्याएर छाडिदिएका हुन् ।
अवैधरूपमा अमेरिका जाने नेपालीलाई अमेरिकाले नेपालमा ल्याएर छाडिदिएको पहिलो घटना भने होइन ।
गत वर्ष पनि यसैगरी केही नेपालीलाई चार्टड विमानमा नेपाल ल्याएको थियो ।
साथै, नेपालमा रहेका एक मोष्ट वान्टेड अमेरिकन नागरिकलाई लिन पनि उक्त प्लेन चार्टर्ड गरेर नेपाल आएको स्रोतले बताएको छ ।