बाग्मती– धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रंगशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे ।
उनले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए ।
मुख्यमन्त्री पौडेलले रंगशाला निर्माणमा धेरै चुनौतीहरू रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो ।
सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रंगशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी दिए ।