नेपालगञ्ज/बाणिज्य कार्यालय नेपालगञ्जसँग मागिएका बिभिन्न बिषयका सूचनाहरु कार्यालयले उपलब्ध गराएकोछ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम अध्ययन प्रयोजनका लागि नेपालगञ्ज १२ निबासी बासका कार्यकारी निर्देशक नमस्कार शाहले बैशाख १२ गते बिभिन्न सूचना माग गर्दै निबेदन दर्ता गराएका थिए । माग गरे बमोजिम कार्यालयले समय भित्र सूचना उपलब्ध गराएको सूचना मागकर्ता नमस्कार शाहले जनाएकाछन् ।
उनका अनुसार कार्यालयले उपभोक्ता शिक्षा र सचेतनाका लागि कार्यालयमा कार्यालयमा कुनै पनि बजेट प्राप्त नभएको, उपभोक्ता संरक्षण ऐन तथा संयुक्त बजार अनुगमन निर्देशिका २०६९ बमोजिम बिभिन्न निकायद्धारा नियमित रुपमा बजार अनुगमन गरिएको सूचना कार्यालयले उपलब्ध गराएकोछ । कार्यालयले अनुगमन पश्चात दर्ता, नविकरणको दायरामा बृद्धि हुनुका साथै राजश्वमा समेत बृद्धि भएको जनाएकोछ ।
२०७४ साउन देखि चैत्र सम्म ९०४ वटा व्यवसायिक फर्मको अनुमगन गरिएको कार्यालयको भनाईछ । उपभोक्ता हकहितका लागि स्थापित सँघ, सँस्था बिचको समन्वयका बिषयमा कार्यालयले अनुगमन तथा उपभोक्ता दिवसमा सहकार्य गर्नुका साथै उपभोक्ता हितसँग सम्बन्धित कार्यक्रममा कार्यालयका तर्फबाट सहभागिता जनाउने गरिएको सूचना कार्यालयले दिएकोछ ।
शाहले उपभोक्ता शिक्षा र सचेतनाका लागि त्यस कार्यालयबाट संचालन गरिएका गतिविधिहरुको बिबरण, बजार अनुगमन बारेको अवस्था, योजना, उपलब्धि र उपभोक्ता हकहितका लागि स्थापित सँघ, सँस्था बिचको समन्वयको बिवरण लगाएतका बिषयमा सूचना माग गरेका थिए ।