काठमाडौं – पार्कभिलेज रिसोर्टको होक्काइडो रामेन हाउस र भाटभाटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना बेन्तो नेपाली बजारमा उपलब्ध गराइएको छ ।
बेन्तो एक जनालाई पुग्ने खाना जसमा भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार आदि समावेश गरिएको जापानी खाना ग्राहकहरूको सहरी जीवनको व्यस्ततामा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल गर्दै पहिलोपटक भाटभाटेनी सुपरमार्केटमा उपलब्ध गराउने सम्बन्धमा शुक्रबार रामेन हाउसले विज्ञप्ति जारी गरेको हो ।
होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले भने, ‘बेन्ताको सुरुवात जापानमा भएको हो ।
बेन्तो भन्नाले एक जनालाई पुग्ने खाना पसल र रेस्टुराँबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना हो ।
हामीले भाटभाटेनी सुपरमार्केटमा बिक्री गर्ने बेन्तो जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्दछौँ ।
तरकारीहरू आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्रीहरू पनि जापानमा तालिम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पु¥याई छानेका हुनेछन् ।हाम्रो बेन्तो आफ्नै सेन्ट्रल किचेनमा सावधानीपूर्वक तयार गरिन्छ ।’
शुक्रबारदेखि बिक्री सुरु हुने बेन्तो हाललाई ५ विभिन्न किसिममा नक्साल भाटभाटेनी सुपर मार्केटबाट उपलब्ध हुने रामन हाउसले जनाएको छ ।
बिस्तारै बेन्तोको प्रकार भाटभाटेनीका अन्य आउटलेट र रामेन हाउसका मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगरलगायत अन्य सहरी क्षेत्रमा बिक्री बढाउँदै लैजाने योजना रहेको अधिकारीले बताएका छन् ।