काठमाडौं – नेपाल पुलिसले राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य रितेश थापामाथिको निलम्बन फुकुवा गरेको छ ।
म्याच फिक्सिङको आरोपमा विभागबाट समेत निलम्बनमा परेका रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो ।
देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।
गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा रितेश सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो ।
अदालतले म्याच फिक्सिङको कार्यमा राज्य विप्लवको कसुर आकर्षित नहुने ब्याख्या सहित रितेश सहितका ६ सदस्यलाई सफाई दिने निर्णय गरेको थियो ।
अन्तराष्ट्रिय फुटबलमा फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापा सहित, उपकप्तान सन्दीप राई, विकास सिंह क्षेत्री, रितेश थापा, अन्जन केसी र फिजियो डेबिज थापा पक्राउ परेका थिए ।
कानुनमै म्याच फिक्सिङको प्रावधान उल्लेख नभएपछि प्रहरीले पक्राउ परेका ६ जनालाई राज्य विप्लपको मुद्धा दर्ता गरेको थियो ।
एएफसीको अनुसन्धानमा खेलाडीले फिक्सिङ गरेको पत्ता लागेको भन्दै नेपाली फुटबलरमाथि प्रहरीले कानुनी कारबाही अघि बढाएको थियो ।
फिक्सिङमा संलग्न रहेको भन्दै एएफसीले रितेश सहित ६ खेलाडीलाई आजिवन प्रतिबन्ध लगाएको छ ।
सोही कारण खेलाडीहरु फुटबलसाग सम्बन्धित गतिविधिमा संलग्न हुन पाउने छैनन् ।
तर अदालतबाट सफाई पाएको उल्लेख गर्दै विभागीय टिम पुलिसले रितेशमाथिको निलम्बन भने फुकुवा गरेको छ ।
प्रहरीको निलम्बन फुकुवाको निर्णय पुष्टि गर्दै रितेशले चाँडै विभागको जिम्मेवारीमा फर्कने बताए ।
तीन पटक विभागीय टिम पुलिसलाई लिग जिताएका रितेशले सकेसम्म खेलकुदमै फर्कने ईच्छा रहेको बताए ।
तत्कालिन गोलकिपर उपेन्द्रमान सिंहलाई प्रतिस्थापन गर्दै रितेशले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका थिए ।