मन भण्डारी
नेपालगञ्ज/आफुले नै जन्माएको नाबालक बच्चालाई बेवारीसे अवस्थामा छोड्ने निष्ठुरी आमाहरु पनि हाम्रो समाजमा छन् । नौ महिना सम्म गर्भमा राखी आफ्नै कोखबाट जन्माएको बच्चालाई बेवारीसे अवस्थामा छोड्ने त्यस्ता ब्यक्तिहरुलाई के भन्ने ?
समय, समयमा समाजमा देखा पर्ने यस्ता खालका घटनाहरु पछिल्लो समय बढ्दै गईरहेका छन् । एक हप्ता अगाडि मात्रै नेपालगन्ज स्थित होटल सिग्नेट पछाडीको झारीमा एक बालिका साल नाल सहित बोरामा बेरेर बेवारीसे फालेको अवस्थामा फेला परेकिछिन् । बेवारिसे अवस्थामा फेला परेकी बालिकाको स्थानीयहरुको सहयोगमा तत्कालै उद्धार गरि जिल्ला प्रहरी कार्यालयको टोलीले भेरी अंचल अस्पतामा पुर्याएको थियो ।
बैशाख १६ गते बोरामा बेरेर मार्ने उद्धेश्यले फालिएको बच्चा रोएको सुनेर स्थानीयहरुले नजिकै रहेको बी.पि चौकको प्रहरी टोलिलाई खबर गरेका थिए । बी.पि. चौकको टोलिले तुरुन्तै जिल्ला प्रहरी कार्यालयको मोबाइल टोलिलाई खबर गरेपछि मोबाइल टोलीले बालिकाको उद्धार गरि भेरी अंचल अस्पताल पु¥याएको थियो । स्थानीयहरुबाट जानकारी पाउना साथ हाम्रो मोबाइल टोलीले बालिकाको उद्धार गरि अस्पताल पुर्याउनुका साथै महिला तथा बालबालिका कार्यालयलाई खबर गरीएको जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला तथा बालबालिका सेलकी श्याम कुमारी पाइजाले जानकारी दिइन् ।
प्रहरीले अस्पतालको जिम्मा लगाएपछि बालिकालाई अस्पतालको आइसियु कक्षमा राखि अस्पतालले हेरचाह गरिरहेको छ । अहिले बालिका अस्पतालको आईसियु कक्षमा राखि सम्पूर्ण हेरचाह अस्पतालले गरिरहेको भेरी अञ्चल अस्पताल नेपालगनजका बाल बिशेषज्ञ डाक्ट कुलदिप गोइतले बताए । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ, कसैले जिम्मा नलिए सम्म बालिकाको जिम्मा अस्पताललेनै लिएकोछ— डा. कुलदिपले भने । बालिका कसले फालेको हो भन्ने पहिचान भने हुन सकेको छैन ।
बच्चा जन्माएर कहिले नालामा, कहिले सडक छेउमा त कहिले झारीमा बेबारीसे अवस्थामा फेला पर्नु अव कुनै नयाँ बिषय भएन । बेबारिसे अवस्थामा भेटिएको बच्चाको बिषयमा जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयले जानकारी पाएपछि जिल्ला बाल कल्याण समितिको बैठक बसि बालिकाको सम्पूर्ण जिम्मा लिने ब्यक्तिहरुका लागि निवेदन आव्हान गर्ने निर्णय गरिएको छ । मापदण्ड पुरा गरि आउने अभिभावकलाई छनौन गरि बालिका जिम्मा लगाउने बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी. ले बताए ।