देशको नागरिकहरूको भविष्य कस्तो बनाउने भन्ने कुराको निर्धारण राजनीतिले गर्दछ । राज्य सञ्चालनका लागि ऐन कानुन वा नीति नियम बनाउने र व्यवहारमा कार्यान्वयन गर्न जनतालाई दिशानिर्देशन गर्ने मेरुदण्ड नै राजनीति हो । नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा (५१ प्रतिशत) महिला छन् । तर, नेपाली समाज सामन्तवादी पितृसत्तात्मक सोचवाट ग्रसित भएकाले महिलाहरू सबै क्षेत्रमा विशेष गरी राजनीतिमा पनि पछाडि पारिएको छ । महिलाहरू राजनीतिमा पछाडि पारिएकाले नीति निर्माण र निर्णय गर्ने तहमा प्रभावकारी स्थानमा पुग्न सफल भएका छैनन् ।
प्रकृतिले महिलाहरूलाई प्रजनन् (सन्तान उत्पादन) गर्ने क्षमता दिएर बलियो बनाएको छ । तर समाज र राज्यले त्यसलाई कमजोरी ठानी दोस्रो दर्जाको नागरिक बनाई पछाडि पार्ने जमर्को गरिएको छ । महिलाहरू पनि प्रकृतिले दिएको शक्तिलाई सहि रूपमा पहिचान गर्न नसकेर धर्म र आधारहीन भ्रमहरूमा परेका छन् । हरेक घरमा महिलाहरू सन्तान जन्माउने साधन र सित्तैमा काम गर्ने नोकर्नीको रूपमा १८ घन्टा खटिएका छन् । महिलाहरूले आफ्नो शरीर मनोरन्जन वा आय आर्जन गर्ने साधनका रूपमा सुम्पनु परेको छ । त्यसैले आज दिनहुँ बलात्कार, हिंसा र हत्याका घटनाहरू पत्रपत्रिकाको पानाहरू भरिने गरेर प्रकाशमा आइरहेका छन् । यस्ता घटनाहरू प्रकाशमा आउनुको मुख्य कारण महिला तथा समाजमा चेतनाको विकास हुनु हो । केहि मात्रामा महिलामैत्री नियम र कानुन पनि बन्नु हो ।
केही मात्रामा बिजुली र इन्टरनेटमा तथा सूचना सञ्चारमा पहुँच वृद्धि हुनु पनि हो । तर पनि समाज र न्याय प्रदायक व्यक्तिहरूको सोच र मनस्थितिमा ठोस र व्यवहारिक रूपान्तरण आइनसकेको र महिला भएकै कारणले विभिन्न प्रकारको हिंसा सहनु परेको छ । लोकतान्त्रिक जननिर्वाचित वहुमतको सरकारले अहिले पनि महिला तथा बालिकाहरूको जीवनमा ‘आफ्नो शरीर, आफ्नो अधिकार’ लाई प्रत्याभूत हुने काम गर्नु त कता हो कता ? अपराधीलाई कारबाहीसम्म पनि गर्न नसकेको देख्दा अचम्म लागेको छ ।
विभिन्न तरिकाले त्यस्ता यौन पिपासु अपराधीहरूले राजनीतिक व्यतित्वहरूको संरक्षणमा उन्मुक्ति पाउनाले अपराधहरू दिन दुई गुणा रात चौगुणा बढ्दै गएको छ । दिनदिनै वालिका तथा महिलाहरू असुरक्षित बन्दै गइरहेका छन् । प्रजनन्् स्वास्थ्यका कारण महिलाहरूको स्वास्थ्य कमजोर बन्छ । त्यसैले हाम्रो समाज र सरकारले महिला स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा विशेष ध्यान दिनु पर्दछ ।
त्यसैले महिलाहरूले आफ्नो घरलाई व्यवस्थित बनाउन सक्छन् भने समाज र देशलाई पनि व्यवस्थित बनाउन सक्छन् । मुलतः महिलाहरू भान्छे हुन्छन् । अरुलाई मिठो मसिनो खुवाई सकेर पछाडि आफू खाने संस्कार बोकेका संस्कारी हुन्छन्– महिलाहरू । हाम्रो घर राम्रो बने समाज राम्रो बन्छ । समाज राम्रो बने देश राम्रो बन्छ । महिलाहरूको समस्या भनेको एउटा गम्भीर यौन तथा प्रजनन् स्वास्थ्य हो ।
यो सँग सम्बन्धित भएर अरु समस्याहरू आउँछन् । महिला समस्याहरू सबैसँग खुलेर कुरा गर्ने, समस्याहरूको बारेमा छलफल गर्ने वातावरण हाम्रो समाजमा छैन । यी समस्याहरू लिएर पुरुषबीचमा जानु अस्वाभाविक र असम्भवप्रायः छ । महिलाहरूको समस्याहरू पुगिहाल्यो भने पनि पुरुषहरूले सहज रूपमा स्वीकार गरेर नीति निर्माणमा प्रत्याभूत गर्न सकिरहेका छैनन् । त्यसैले जनसंख्याको आधा हिस्सा भएको नेपाली महिलाहरूको राजनीतिमा सक्रिय र अर्थपूर्ण सहभागिता बढाउनु पर्ने नितान्त आवश्यकता बनेको छ । त्यसैले अहिले न्याय हराएको देशमा नेपाल परिणत भएको छ । यूुाहरूमा निराशाले घर गरेको छ । भ्रष्टाचार व्याप्त छ ।
यस्तो परिस्थितिमा महिलाहरू भित्रको समाबेशीतालाई ध्यानमा राख्दै राजनीतिक नेतृत्वमा पुर्याउन सकियो भने देशमा भएको राज्य तथा सामाजिक संरचनामा परिवर्तन ल्याउन सकिन्छ । जसको प्रत्यक्ष प्रभावले समाजमा रूपान्तरण ल्याउन र सुखी, शान्ति तथा समृद्ध नेपाल बनाउन सकिन्छ । यो हाम्रो विश्वास हो ।
महिलाहरू हिजैदेखि उपेक्षित र उत्पीडित बनाई पछाडि पारिएको कारण उनीहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न सकियो भने दिगो विकास लक्ष्यको मुल नारा ‘कसैलाई पछाडि नपारौँ, सबैभन्दा पछाडि पारिएका समुदाय वा व्यक्तिमा सबैभन्दा अगाडि पुगौँ’ लाई कार्यरूपमा परिणत गर्न सम्भव हुन्छ । (बियोण्ड बेजिङ कमिटी र राइट हियर राइट नाउनको सहकार्यमा)
(लेखक श्रेष्ठ बियोण्ड बेइजिङ कमिटीका अध्यक्ष हुन् ।)