काठमाडौं – नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
संघले एक विज्ञप्ति निकाल्दै सोमबारबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरिएको जनाएको छ ।
कोरोना भाईरसको महामारी व्यापक रूपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।
संघको केन्द्रीय कार्यालय ललितपुरको सातदोबाटोमा रहेको छ ।
यस्तै संघले सचिवालय अन्तर्गत रहेका सेवाहरू इमेल वा फोनबाट गर्न सकिने जनाएको छ ।
यस अघि संघका दुई कर्मचारीलाई कोरोना देखिएपछि दुई साता बन्द रहेको कार्यालय असोज २५ गतेबाट खुलेको थियो ।
कोरोनाको कारण केन्द्रीय कार्यालय खुलेपनि तेक्वान्दो खेलका गतिविधि ठप्प रहेको छ ।
तर, केहि अनलाइन प्रतियोगिता भने आयोजना भईरहेको छ ।