काठमाडौं– नेपाल टेलिकमले आफ्नो सेवाको जानकारीबारे विभिन्न भाषामा सन्देशहरू प्रसारण गरेको जनाएको छ ।
छरिएर रहेका फरक–फरक मातृभाषा बोल्ने सेवाग्राहीहरूलाई कम्पनीले उपलब्ध गराइरहेको विभिन्न सेवा सुविधाहरूका बारेमा जानकारी प्रदान गर्न टेलिकमले छुट्टाछुट्टै भाषामा सन्देशहरू प्रसारण गरेको मंगलबार जनाएको हो ।
कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरू विभिन्न स्थानका भाषाभाषी, जातजाति र समुदायका मातृभाषामार्फत स्थानीय भाषामै प्रसारण सेवा विस्तार भएको प्रेस विज्ञप्ति जारी गरी टेलिकमले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार उक्त कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ ।
रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरू धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायलमा विभिन्न बोल भएका फरक फरक सन्देशहरू झन्डै डेढदर्जन भाषामा प्रसारण भइरहेका कम्पनीले जनाएको छ ।
जस्तै राई बान्तवा, लिम्बू, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण छन् ।
टेलिकमले प्रसारित सन्देशहरूमा विभिन्न डाटा र भ्वाइसलगायत सेवाहरू र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिएकाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ ।
हाल टेलिकमले अटम अफरको रूपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक र फेस्टिभल अफरमा जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रूपमा पनि उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।